जनता समाजवादी पार्टीका संघीय परिसद अध्यक्ष एवं पुर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई पछिल्लो केही दिन गृह जिल्ला गोरखाको चुनावी कार्यक्रमहरुमा व्यस्त छन् । स्थानीय तह निर्वाचनको परिणाम आफ्नो पार्टीको पक्षमा पर्न उनले विभिन्न रणनीतिहरु अपनाइरहेका छन् ।
उनले गृह नगर पालुङटारमा शनिवार राति खसी काटेर जनतालाई भोज खुवाएको नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार दिपकबाबु कंडेलले जानकारी दिए । उनले भने, “पुर्वप्रधानमन्त्री समेत भैसकेका बाबुराम अहिले यहाँ आएर अनैतिक कृयाकलापहरु गरिरहनुभएको छ । हिजो राति पनि एउटा दलित वस्तीमा खसी काटेर अबेरसम्म भोज चलेको थियो ।”
भट्टराई र गण्डकी प्रदेशका मन्त्री हरिशरण आचार्य भएर यस्तो गतिविधि गरिरहेका छन् । बाबुरामकै कारणले पालुङटारमा गठबन्धन हुन नसकेको उनको भनाई छ ।
कंडेलले पालुङटारमा गत स्थानीय तह निर्वाचनमा कांगे्रसबाट चुनाव जितेर अहिले फेरि उम्मेदवारी दिएका हुन् । पालुङटारमा यो पटक कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेस र जसपाबीच गठबन्धन गर्ने केन्द्रको निर्णय अनुसार जसपाले उपमेयरको उम्मेदवारी फिर्ता लिएको छ । केन्द्रको निर्णय अनुसार कांगे्रसले मेयरको उम्मेदवारी फिर्ता लिने भनिए पनि निर्णय निर्धारित समयभन्दा ढिला आएकोले फिर्ता नलिएरको कंडेलको दावी छ । केन्द्रको निर्णय नमानेर आफुहरुलाई कांग्रेसले धोका दिएको जसपाले बताउँदै आएको छ ।
केन्द्रको निर्णय अनुसार उपमेयरको उम्मेदवारी फिर्ता लिएर जसपालाई भने घाटा भएको छ ।






