पोखरा । गृहमन्त्री सुधन गुरुङको भनेर सञ्चारमाध्यममा सार्वजनिक भएको जग्गा उनले व्यवसाय संचालनका लागि भाडामा लिएको र सम्झौताअनुसार भाडा नबुझाएको पाईएको छ।
पोखराका स्थानीय ओम गुरुङका अनुसार सुधन गुरुङले ताल किनारस्थित करिब २० रोपनी जग्गा वार्षिक २ लाख रुपैयाँ तिर्ने गरी भाडामा लिएका थिए।
उक्त जग्गामा रिसोर्ट र पर्यटकलक्षित संरचना निर्माण सुरु गरिएको थियो। तर, निर्माणक्रममै स्थानीयसँग विवाद भएपछि संरचना अधुरै छाडेर गुरुङ बाहिरिएका थिए।
जग्गाधनीका अनुसार सुधनले सम्झौता भएको ५ वर्ष बितिसक्दा पनि भाडा नबुझाएको र १ वर्षको मात्रै भाडा पाएको बताएका छन्।
जग्गाधनीका अनुसार सुधनले उक्त जग्गा १५ वर्षका लागि भाडामा लिएका थिए ।
यता पोखराका मेयर धनराज आचार्यले सुधन गुरुङले आफ्नो जग्गामा समेत डोजर चलाउन भनेको र यसमा आफूले अवरोध नगर्ने बताएको उल्लेख गरेका थिए।
विवाद सार्वजनिक भएपछि जग्गाधनी गुरुङले सुधनलाई भाडा तिर्न आग्रह गरेका छन्। “भाडा त कानुनअनुसार तिर्नुपर्ने हो। उहाँ त सिस्टम बसाल्ने जिम्मेवारीमा हुनुहुन्छ, तर आँफैले गरेको सम्झौताको भाडा दिनुभएको छैन,” उनले भने, “गृहमन्त्रीज्यू सम्पर्कमा आउनुस्। डोजर चलाउने हो भने पनि चलाउनुस्, नचलाउने हो भने कागज च्यातौँ।”
उक्त जग्गाको नापी तथा दर्ता अवस्था भने अझै स्पष्ट नभएको बताइएको छ।
सो जग्गाको केहि भाग नापी भइसकेको र केहि भाग हकभोगका आधारमा सम्झौतामार्फत् प्रयोगमा ल्याइएको हुन सक्ने स्थानीयहरु बताउँछन्।






