सुनसरीको धरानमा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चितवनमा जनता धम्काउने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) माकाफुई (बाँदरे घुर्की लगाउने) भएको आरोप लगाएका छन् ।
चितवनमा छोरी रेणु दाहाललाई भोट नदिए देशमा जे पनि हुने र ठूलो दुर्घटना हुन्छ भनेर जनता थर्काएर प्रचण्डले माकाफुई प्रवृत्ति देखाएको ओलीको टिप्पणी छ ।
ओलीले नेवारी भाषामा माकाफुईको अर्थ बाँदर भएको सुनाए । ‘एउटा चकचके बाँदर रुखमा चढेर रुख हल्लाउँदै कराउँदै बदमासी गरिरहेको हुन्छ,’ उनले भने, ‘प्रचण्ड त्यही रुखमा चढेर चकचक गरिरहने माकाफुई (बाँदर) हो ।’ ओलीले प्रचण्डलाई माकाफुई भन्दा भानुचोकमा भेला भएका एमाले कार्यकर्ताहरू गलल्ल हाँसेका थिए ।
उनले आफ्नो लोकप्रियताका कारण वृद्धदेखि बालकसम्मले आफूलाई आई लभ यू भन्न थालेको बताए ।
एमालेले धरानमा मञ्जु भण्डारीलाई मेयर र पदम इस्वो लिमबुलाई उपमेयर बनाएको छ। इटहरीमा याम सुब्बा मेयर र संगीता चौधरीलाई उपमेयर बनाएको छ ।






