कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा जेनजीको प्रदर्शन

काठमाडौं । भाद्र २३ र २४ गते भएको जेनजी विद्रोहको सत्य–तथ्य सार्वजनिक गर्न माग गर्दै राष्ट्रिय जेनजी जनएकता अभियानले राजधानीको माइतीघर मण्डलामा दबाबमूलक प्रदर्शन गरेको छ।

प्रदर्शनकारीहरूले “कार्की आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गर” भन्ने नारा लगाउँदै सरकारसँग पारदर्शिता र जवाफदेहिताको माग गरेका थिए। उनीहरूले आयोग गठन भए पनि प्रतिवेदन सार्वजनिक नगरिनु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

अभियानका संयोजक सुनिल सिंह ले सरकारको ढिलासुस्तीप्रति कडा आपत्ति जनाउँदै भने, “जनताको आवाजलाई बेवास्ता गरेर प्रतिवेदन लुकाउनु स्वीकार्य छैन। भाद्र २३–२४ का घटनाको सत्य बाहिर ल्याउनु सरकारको दायित्व हो। यदि अझै ढिलाइ गरिन्छ भने हामी आन्दोलनलाई थप सशक्त बनाउँदै देशव्यापी रूपमा विस्तार गर्नेछौं।”

उनले थपे, “यो कुनै राजनीतिक स्वार्थको आन्दोलन होइन, यो सत्य, न्याय र जवाफदेहिताको लडाइँ हो। कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरेसम्म हाम्रो दबाब जारी रहनेछ।”

प्रदर्शनमा सहभागी युवाहरूले “सत्य लुकाउन पाइँदैन”, “न्याय चाहियो”, “छोराले रगत बगायो : आमाले दोषी भगायो” जस्ता प्लेकार्ड बोकेका थिए। उनीहरूको भनाइमा, विद्रोहका क्रममा भएका घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही नभएसम्म आन्दोलन जारी रहनेछ।

कार्यक्रम चैत ६ गते मध्यान्ह १२:३० बजे आयोजना गरिएको थियो, जहाँ विभिन्न क्षेत्रका युवाहरूको उल्लेखनीय उपस्थिति रहेको देखिएको थियो। शान्तिपूर्ण रूपमा सम्पन्न उक्त प्रदर्शनले सरकारलाई चाँडो निर्णय लिन दबाब दिने अपेक्षा गरिएको आयोजकहरूले बताएका छन्।

यता, सरकारको तर्फबाट भने प्रतिवेदन सार्वजनिक गर्ने विषयमा हालसम्म स्पष्ट धारणा सार्वजनिक गरिएको छैन।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *