काठमाडाैं । धादिङ जिल्लाका १३ वटै स्थानीय निकायहरूले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले कानुन विपरीत दिने निर्देशन र प्रशासनमार्फत हुने हस्तक्षेपको प्रतिवाद गर्ने घोषणा गरेका छन् ।
केहि दिन अगाडी धादिङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले दिएको निर्देशन प्रतिलक्षित गर्दै धादिङका पालिकाहरूले विरोध जनाएका हुन् ।
धादिङका १३ वटै स्थानीय तहका प्रमुख/अध्यक्ष एवं उपप्रमुख/उपाध्यक्षहरूको बिहीबार बसेको बैठकले संघीयताको मर्म अनुसार तीनै तहका सरकारहरूबीच पारस्परिक सम्मान, विश्वास, सहकार्य र समन्यवलाई सुदृढ गर्दै अघि बढ्न ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ ।
बिहीबार नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानाको अध्यक्षतामा बैठक बसेको थियो ।
संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘नवनिर्वाचित माननीयज्यूहरूका नामबाट संविधान एवं कानुन विपरीत जारी भएका निर्देशनहरू र प्रशासनमार्फत स्थानीय सरकारलाई नियन्त्रण गर्न खोज्ने कार्यको यो बैठक कडा प्रतिवाद गर्दछ ।’







