काठमाडौँ — नेपाल आयल निगम ले सुदूरपश्चिम प्रादेशिक डिपो स्थानान्तरणका लागि दुई वर्षदेखि जग्गा खोजी गरिरहेको भए पनि उपयुक्त स्थान अझै फेला पार्न सकेको छैन।
धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित हालको डिपो साँघुरो बस्तीबीच भएकाले ठूलो क्षमताको नयाँ डिपो बनाउने योजना अघि बढाइएको हो।
निगमको सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख मनोहर डिसीका अनुसार डिपोका लागि करिब २०–२२ बिघा सार्वजनिक जग्गा आवश्यक पर्ने भएकाले खोजी प्रक्रिया लम्बिएको हो।
भन्सार नाकाबाट नजिक र भविष्यमा बस्ती विस्तार हुँदा पनि जोखिम नहुने स्थान खोजी भइरहेको उनले बताए।
डिपो नजिकैको शुभकामना टोलका ८७ घरधुरी जोखिममा रहेको भन्दै स्थानीयले स्थानान्तरणको माग गर्दै दबाब दिँदै आएका छन्।
यसअघि स्थानीयले ध्यानाकर्षणपत्र बुझाउँदै आन्दोलनको चेतावनी दिएपछि निगमले डिपो सार्ने प्रक्रिया अघि बढाएको थियो।
निगमले कञ्चनपुरको पुनर्वास नगरपालिका–३ र ५ मा रहेको राष्ट्रिय आवास कम्पनीको २२ बिघा जग्गा खरिद गर्ने प्रस्ताव अघि बढाए पनि बस्तीबीच भएकाले नगरपालिकाले असहमति जनाएको थियो।
अहिले भने अत्तरिया आसपासको क्षेत्रमा नयाँ जग्गा खोजी भइरहेको छ।
२०३४ सालमा स्थापना भएको धनगढी डिपो डेढ बिघा क्षेत्रफलमा मात्र रहेको छ।
हाल यहाँ पेट्रोल, डिजेल र मट्टीतेलसहित कुल २,८९० किलोलिटर भण्डारण क्षमता छ, जसले सुदूरपश्चिमको एक साताको मागसमेत धान्न नसक्ने बताइएको छ।
नयाँ ‘स्मार्ट डिपो’ निर्माण भए पेट्रोल १,८०० किलोलिटर र डिजेल ६,६०० किलोलिटर क्षमतासहित भण्डारण विस्तार गरिने योजना छ।
जग्गा अधिग्रहण, डीपीआर र निर्माणका लागि करिब साढे ३ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ।







