काठमाडौंं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ मा आफ्ना कर्मचारीलाई ६ करोडभन्दा बढी रकम बोनस बाँडेको छ ।
कम्पनीका अनुसार गत आर्थिक वर्षमा कर्मचारीलाई ६९ दिन बराबरको ६ करोड २ लाख ४७ हजार ९६३ रुपैयाँ बोनस वितरण गरिएको छ । कम्पनीले खुद नाफामा बढोत्तरी भएसँगै कर्मचारीलाई दिने बोनस पनि करिब ५ सय प्रतिशतले बढाएको हो ।
कम्पनीको वार्षिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८०/८१ मा १ करोड १ लाख ८ हजार ३१६ रुपैयाँ बोनस वितरण गरिएको थियो । गत आर्थिक वर्ष २०८१/८२ मा कम्पनीमा कार्यरत जनशक्तिको पारिश्रमिकमा ११ करोड ६० लाख ३३ लाख १ सय ९८ रुपैयाँ खर्च भएको छ । यो रकम अघिल्लो वर्षको भन्दा ५५ लाख ८० हजार ९ सय १४ रुपैयाँले बढी हो ।
कम्पनीमा कार्यरत ४ हजार जनशक्तिमध्ये करिब करिब १ हजार ३ सय महिला छन् । उद्योग परिसरमा महिलाका लागि स्तनपान कक्ष, बालबालिकाका लागि डे केयर सेन्टर र कर्मचारीका छोराछोरीका लागि १२ कक्षासम्म अध्ययनको व्यवस्था दिइँदै आएको छ । उद्योग परिसरमै कर्मचारीका लागि सुविधा सम्पन्न लेवर कोलोनी, खेल मैदान, आधुनिक क्यान्टिन, एम्बुलेन्ससहित विशेषज्ञ डाक्टरको सुविधा पनि उपलब्ध छ ।
रिलायन्सले गत आर्थिक वर्षमा ४७ करोड ५८ लाख ११ हजार ९७९ रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको खुद नाफा ५ करोड ३ लाख ८३ हजार ७ सय ९३ रुपैयाँ रहेको थियो । दुई आर्थिक वर्षको तुलना गर्दा कम्पनीको खुद नाफामा ८ सय ४५ प्रतिशतले वृद्धि भएको देखिन्छ ।
कम्पनीको कूल नाफा पनि अघिल्लो आर्थिक वर्षको तुलनामा ४२ प्रतिशतले बढेको वित्तीय विवरणमा उल्लेख छ । कम्पनीले सार्वजनिक गरेको वार्षिक वित्तीय विवरण अनुसार वार्षिक वर्ष २०८१र८२ मा कुल नाफा १ अर्ब ४८ करोड ९३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कम्पनीको नाफा ८६ करोड ५० लाख रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कुल ४ अर्ब ७९ करोड २ लाख ९१ हजार १६३ रुपैयाँ आम्दानी गरेको छ । माघ अन्तिम साता सार्वजनिक वित्तीय विवरण अनुसार उक्त अवधिमा १३ करोड ७४ लाख ३५ हजार ४१४ रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिशेयर नेटवर्थ पनि बढेर ४९० रुपैयाँ ५४ पैसा पुगेको छ ।
२०५४ सालमा स्थापित रिलायन्स स्पिनिङ मिल्स नेपालको प्रतिष्ठित व्यापारिक घराना गोल्याण समूहको अभिन्न अंगको रूपमा रहेको छ । उद्योगले कपास, पोलिस्टर, भिस्कोज, एक्रेलिक र टेक्सचर्ड यार्न उत्पादन गर्दै आएको छ । उद्योगका उत्पादनहरू नेपालभित्र खपत हुनुका साथै भारत, टर्कीलगायत देशमा निर्यात हुने गरेका छन् । वार्षिक ५ करोड अमेरिकी डलर बराबरको निर्यात हुन्छ ।
रिलायन्सको नेतृत्व हाल गोल्याण समूहका तेस्रो पुस्ताका प्रतिनिधि अक्षय गोल्याणले गरिरहेका छन् । यस उद्योगले अन्तर्राष्ट्रिय बजारमा समेत विशिष्ट पहिचान स्थापित गर्न सफल भएको छ । ९ हजार स्पिन्डल क्षमताबाट सुरु भएको रिलायन्स स्पिरिङ मिल्स हाल १ लाख २ हजार ८ सय २४ स्पिन्डलको जडित क्षमतासहित सञ्चालन भइरहेको छ । सुनसरीको खनार र दुहबीमा उद्योगका दुई वटा धागो कारखाना रहेका छन् ।






