विद्युत् बिक्रीबाट ६ महिनामा २८ अर्ब आम्दानी, अप्पर तामाकोसीको सबैभन्दा धेरै

काठमाडौं। बाढीपहिरोले भौतिक संरचना प्रभावित भएर उत्पादनमा अवरोध हुँदासमेत चालू आवको ६ महिनामा जलविद्युत् कम्पनीको विद्युत् बिक्री आम्दानी २५ प्रतिशतले बढेको विवरण सार्वजनिक भएको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत ९२ हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म विद्युत् बेचेर २८ अर्ब १० करोड ५० लाख आम्दानी गरेका हुन्। यो आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.९८ प्रतिशत बढी हो।

गत आर्थिक वर्षको ६ महिनामा जलविद्युत कम्पनीले २२ अर्ब ४८ करोड ८१ लाख ७३ हजार रुपैयाँ विद्युत् बिक्री आम्दानी गरेका थिए। हाल नेप्सेमा सूचीकृतमध्ये ९३ कम्पनीले ६ अर्ब ९१ करोड ७५ लाख ५० हजार रुपैयाँ नाफा आर्जन गरेका छन्। उक्त नाफा गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा १०१.५७ प्रतिशतले बढी हो।

गत आर्थिक वर्षको ६ महिनामा हाइड्रो कम्पनीले ३ अर्ब ४१ करोड ४८ लाख ५७ हजार रुपैयाँ नाफा आर्जन गरेका थिए। समीक्षा अवधिमा विद्युत् बिक्री आम्दानी सर्वाधिक गर्नेमा अप्पर तामाकोसी जलविद्युत् रहेको छ।

कम्पनीले बिजुली बेचेर ५ अर्ब ७ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको छ। उक्त आम्दानी गत वर्ष आर्थिक वर्षको सोही अवधिको तुलनामा ८१.४४ प्रतिशतले बढी हो।

यस्तै, दोस्रोमा साहज ऊर्जाले १ अर्ब ७० करोड ४९ लाख रुपैयाँको बिजुली बेचेर नाफा कमाएको छ, जुन गत आथिक वर्षको सोही अवधिको तुलनामा ५.५२ प्रतिशतले बढी हो।

अपि पावरले ९५ करोड ९२ लाख, माउन्टेन इनर्जीले ९१ करोड ४४ लाख, चिलिमे हाइड्रोपावरले ६३ करोड ६५ लाख, सानिमा मिडिल तमोरले ८८ करोड ९१ लाख, सान्जेन जलविद्युतले ८५ करोड ८२ लाख, सुपर मादीले ६७ करोड २८ लाख, ग्रिज भेन्चर्सले १ अर्ब १ करोड २६ लाख, बलेफी हाइड्रोपावरले ६३ करोड ७२ लाख, पिपुल्स हाइड्रोपावरलगायतले ५७ करोड १२ लाख रुपैयाँ बिजुली बिक्रीबाट आम्दानी गरेका हुन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *