काठमाडौं। नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ सेवा तीव्र बढ्दै जाँदा असुरक्षित इन्टरनेट नेटवर्कमार्फत गरिने कारोबारले वित्तीय जोखिम बढाउनेतर्फ सचेत गराउँदै प्रयोगकर्तालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
राष्ट्र बैंकले सूचना जारी गर्दै निःशुल्क वा अन्य कुनै पनि अनसेक्युर वाईफाई नेटवर्क प्रयोग गर्दा प्रयोगकर्ताको बैंकिङ विवरण अनधिकृत व्यक्तिको पहुँचमा पुग्न सक्ने जोखिम रहने बताएको छ।
यस्ता खुला नेटवर्कमा ह्याकर तथा वित्तीय अपराधी सक्रिय हुन सक्ने र पासवर्ड, पिन, ओटीपीजस्ता संवेदनशील विवरण चोरी भई दुरुपयोग हुन सक्ने खतरा रहेको केन्द्रीय बैंकले जनाएको छ।
राष्ट्र बैंकले अनलाइन बैंकिङ प्रयोग गर्दा सम्बन्धित बैंकको आधिकारिक वेबसाइट वा एप्लिकेसन मात्र प्रयोग गर्नुपर्ने स्पष्ट पारेको छ।
साथै, कारोबारमा प्रयोग हुने पासवर्ड र पिन कोड समय–समय परिवर्तन गर्नुपर्ने तथा ती विवरण कसैसँग पनि साझा नगर्न सचेत गराएको छ।
विशेषगरी क्याफे, होटल, विमानस्थल, शपिङ मलजस्ता सार्वजनिक स्थानमा उपलब्ध नेटवर्क प्रयोग गरी विद्युतीय बैंकिङ कारोबार गर्दा जोखिम उच्च हुने भएकाले यस्ता नेटवर्कबाट सम्भव भएसम्म टाढा रहन राष्ट्र बैंकले सुझाएको छ।






