नेपाल वेयरहाउजिङ्गको आम्दानी उल्लेख्य घट्यो

काठमाडौँ । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेड (एनडब्लुसीएल) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

विवरणअनुसार कम्पनीको सञ्चालन आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा घटेको छ।

गत आर्थिक वर्षको पहिलो छ महिनामा ३१ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा भने ४ करोड २४ लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ।

वित्तीय विवरणमा जनाइएअनुसार त्रैमासको अन्त्यसम्म ग्राहकहरूले साइलोमा भण्डारण गरेको अन्न लामो समय भइसकेकाले मकै र गहुँको भुक्तानी माग उच्च भएको छ।

ग्राहकको मागअनुसार अन्न फिर्ता तथा भुक्तानी प्रक्रिया तीव्र रूपमा अघि बढ्दा कम्पनीका साइलोमा गहुँ र मकैको मौज्दात क्रमशः घट्दै गएको छ।

साथै वेयरहाउस रिसिप्ट प्रणाली समयमै कार्यान्वयन हुन नसक्दा अपेक्षित आम्दानी गर्न नसकेको कम्पनीको भनाइ छ।

आम्दानी घटे पनि समीक्षा अवधिमा कम्पनीको नोक्सानी भने घटेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ करोड ७४ लाख रुपैयाँ नोक्सानीमा रहेको कम्पनी चालु आर्थिक वर्षको सोही अवधिमा २ करोड ९ लाख रुपैयाँ नोक्सानीमा सीमित भएको छ। खर्च कटौतीका कारण नोक्सानी घट्न पुगेको कम्पनीले जनाएको छ।

पुस मसान्तसम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ६ रुपैयाँ ९ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ २४ पैसा कायम रहेको छ।

६८ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको अन्य इक्विटी भने २० करोड २५ लाख रुपैयाँ ऋणात्मक रहेको वित्तीय विवरणमा उल्लेख छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *