वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिनेटमा रिपब्लिकन र डेमोक्र्याटहरूबीच सरकारी खर्च प्याकेजका मुख्य हिस्साहरू अघि बढाउने विषयमा ऐतिहासिक सहमति भएको घोषणा गरेका छन्।
यद्यपि, आन्तरिक सुरक्षा विभाग (डीएचएस) सँग सम्बन्धित छैटौँ विधेयकलाई भने यो प्याकेजबाट हटाइएको छ, जसले गर्दा यस विभागको भविष्यबारे केही दिन अन्योल रहने देखिएको छ।
मिनेयापोलिसमा संघीय एजेन्टहरूद्वारा दुई अमेरिकी नागरिकको हत्या भएपछि डेमोक्र्याटहरूले आन्तरिक सुरक्षा विभागको बजेट रोक्न दबाब दिइरहेका थिए।
विशेषगरी आइस र सीमा सुरक्षा बल (सीबीपी) को परिचालन र उनीहरूको कार्यशैलीमा संरचनात्मक सुधारको माग गर्दै विपक्षीहरूले बजेटमा अवरोध पुर्याएका हुन्।
डेमोक्र्याट नेता चक शुमरले सुरक्षा निकायहरूमा व्यापक सुधार नभएसम्म बजेट पारित हुन नदिने अडान राखेका थिए।
पछिल्लो सहमति अनुसार अब गृह मन्त्रालयको बजेट वर्तमान स्तरमै दुई हप्ताका लागि मात्र थप गरिएको छ।
सेन्टर जोन कोर्निन लगायतका केही रिपब्लिकनहरूले भने बजेट विवादका कारण सरकार नै ठप्प हुने अवस्था आउन नहुनेमा जोड दिएका छन्।
सिनेटले परिमार्जन गरेको यो प्याकेज अब फेरि प्रतिनिधि सभा (हाउस अफ रिप्रिजेन्टेटिभ्स) बाट अनुमोदन हुनुपर्नेछ।
तल्लो सदनका सदस्यहरू सोमबार मात्रै काममा फर्कने भएकाले यो साताको अन्त्यमा केही विभागहरूको बजेट प्राविधिक रूपमा सकिने भए पनि त्यसको प्रभाव न्यून रहनेछ।
गएको वर्ष ४३ दिनसम्म चलेको इतिहासकै लामो ‘सटडाउन’ को तुलनामा यसपटकको सम्झौताले अमेरिकालाई ठूलो प्रशासनिक संकटबाट जोगाएको छ।







