काठमाडौं । विशेष अदालतले बहुचर्चित टेरामक्स प्रविधि खरिदमा भएको भ्रष्टाचार मुद्दामा प्राविधिक परीक्षणका लागि उच्चस्तरीय विज्ञ समूह गठन गर्न आदेश दिएको छ ।
विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले उक्त आदेश जारी गरेको हो ।
पूर्वमन्त्री मोहनबहादुर बस्नेतसमेत प्रतिवादी रहेको भ्रष्टाचार (हानिनोक्सानी) मुद्दामा अदालतले टेरामक्स प्रणालीको गुणस्तर र सम्झौता बमोजिमको सामान आपूर्ति भए–नभएको यकिन गर्न यस्तो कदम चालेको हो ।
अदालतले प्राविधिक परीक्षण गर्न आदेश जारी गरेको छ । टेरामक्स खरिदमा १ अर्ब ५१ करोड ६२ लाख ५२ हजार १४३ रुपैयाँ भुक्तानी भइसकेको र सामान जडान भइसकेको दाबी गरिएको सन्दर्भमा, उक्त प्रणाली र सामग्रीहरूको गुणस्तर सम्झौता बमोजिम भए–नभएको परीक्षण गरी प्रतिवेदन पेस गर्न भनिएको छ।







