तेहरान ।इरानको राष्ट्रिय मुद्रा रियाल ऐतिहासिक रूपमा कमजोर बनेको छ। हाल तेहरानको खुला बजारमा एक अमेरिकी डलर किन्न १२ देखि १४ लाख रियाल तिर्नुपर्छ। सन् २०१८ मा यही डलरको मूल्य करिब ५०–६० हजार रियाल मात्र थियो। सात–आठ वर्षको अवधिमै इरानको मुद्रा २० गुणाभन्दा बढी कमजोर भएको हो।
यस गिरावटको निर्णायक मोड २०१८ मा आयो, जब अमेरिका इरानसँग भएको न्युक्लियर डिलबाट बाहिरियो र इरानमाथि कडा आर्थिक प्रतिबन्ध पुनः लागू गरियो। ती प्रतिबन्ध मुख्य रूपमा तेल निर्यात, अन्तर्राष्ट्रिय बैंकिङ प्रणाली र विदेशी मुद्रा भित्र्याउने प्रक्रियामा केन्द्रित थिए।
इरानको अर्थतन्त्रको मेरुदण्ड मानिने तेल निर्यात एकाएक घट्दा विदेशी मुद्रा आम्दानीमा ठूलो कमी आयो। सामान्य अवस्थामा इरानले दैनिक २५ देखि ३० लाख ब्यारेल तेल निर्यात गर्ने गरेको थियो।
तर प्रतिबन्धपछि यो मात्रा केही समय ५ देखि ७ लाख ब्यारेल वरिपरि झर्यो। विदेशी मुद्रा घटे पनि सरकारी खर्च भने उस्तै रह्यो। सरकारी तलब, ऊर्जा सब्सिडी, सुरक्षा खर्च र प्रशासनिक व्यय निरन्तर बढिरहे। यही असन्तुलनले सरकारलाई मुद्रा छाप्न बाध्य बनायो।
प्रतिबन्धको अर्को गम्भीर असर इरानलाई अन्तर्राष्ट्रिय बैंकिङ प्रणालीबाट आंशिक रूपमा अलग गर्नु थियो। इरानका बैंकहरू विश्वव्यापी भुक्तानी नेटवर्क मानिने स्वीफ्ट प्रणालीबाट सीमित गरिए।
स्वीफ्ट भनेको एक देशबाट अर्को देशमा बैंकहरूले पैसा पठाउन प्रयोग गर्ने अन्तर्राष्ट्रिय सञ्जाल हो।
यसबाट अलग भएपछि इरानले विदेशमा पैसा पठाउन, विदेशबाट रकम प्राप्त गर्न र सामान्य व्यापार भुक्तानी गर्न कठिन भयो। तेल बेच्दा पनि रकम विदेशी बैंकमै अड्किने, आयातका लागि भुक्तानी गर्न नसक्ने अवस्था सिर्जना भयो।
कानुनी कारोबारसमेत तेस्रो देश, बिचौलिया र अनौपचारिक प्रणाली हुँदै घुमाउरो बाटो अपनाउन बाध्य बन्यो।
सन् २०२० देखि २०२४ को बीच इरानमा मुद्रा आपूर्ति तीव्र रूपमा बढाइयो। तर यस अवधिमा उत्पादन, निर्यात र विदेशी मुद्रा आम्दानी भने उल्लेखनीय रूपमा बढेन।
बजारमा पैसा धेरै भयो तर सामान उस्तै रहँदा महँगाइ तीव्र भयो र रियाल झन् छिटो कमजोर हुन थाल्यो। २०१८ मा एक डलर करिब ५५ हजार रियाल थियो भने २०२० मा यो १.५ लाख पुग्यो। २०२२ मा ३–४ लाख, २०२४ मा ७–८ लाख र अहिले १२ लाखभन्दा माथि पुगेको छ।
इरानको मुद्रा प्रणालीलाई झन् जटिल बनाउने अर्को कारण त्यहाँ रहेको बहुदर प्रणाली हो। देशमा सरकारी दर, निमा दर र खुला बजार दर गरी तीन फरक विनिमय दर छन्।
औषधि र खाद्यान्न जस्ता आवश्यक वस्तुका लागि सरकारले सस्तो दर तोक्छ, व्यापारिक कारोबारका लागि निमा दर प्रयोग हुन्छ, तर आम नागरिकले डलर किन्नुपर्ने वास्तविक मूल्य खुला बजार दर नै हो।
यस प्रणालीले व्यवहारमा ठूलो खाडल सिर्जना गरेको छ। सरकारी सस्तो दरमा डलर पाउन कठिन भएपछि अधिकांश व्यापार खुला बजार दरमै चल्छ। नतिजा स्वरूप, रियालको मूल्य सरकारको नीतिले होइन, राजनीतिक तनाव र भविष्यप्रतिको डरले निर्धारण गर्न थालेको देखिन्छ। कुनै अन्तर्राष्ट्रिय तनाव वा प्रतिबन्धको चर्चा हुनासाथ डलरको मूल्य तुरुन्तै बढ्ने प्रवृत्ति देखिन्छ।
यस्तो अवस्था निरन्तर रहिरहेमा इरान पनि जिम्बाब्वे वा भेनेजुएला जस्ता देशहरूले भोगेको गहिरो मुद्रा संकटतर्फ जान सक्ने जोखिममा छ। ती देशहरूमा मुद्राप्रति भरोसा हराएपछि मानिसहरूले आफ्नै पैसालाई सञ्चयको साधन मान्न छाडे, डलर, सुन र घरजग्गातर्फ भागे, र अन्ततः राष्ट्रिय मुद्रा व्यवहारमा अप्रासंगिक बन्न पुग्यो।
हाल इरान त्यो चरम अवस्थामा पुगिसकेको छैन। तर वर्षौंदेखि ४०–५० प्रतिशत आसपासको महँगाइ, बहु-दर प्रणाली, खुला बजार दरको वर्चस्व र जिरो हटाउने जस्ता कदमहरूले संकट गहिरिँदै गएको संकेत गर्छन्।
यद्यपि, अवस्था पूर्ण रूपमा निराशाजनक भने छैन। यदि इरानले अन्तर्राष्ट्रिय सम्बन्ध सुधार्न सके, प्रतिबन्ध कम भए, तेल निर्यात खुला रूपमा पुनः सुरु भयो र विदेशी मुद्रा देशभित्र आउन थाल्यो भने रियाल पुनः स्थिर हुन सक्छ। त्यस अवस्थामा महँगाइ क्रमशः घट्ने र बहु-दर प्रणाली हटाएर एकै दरमा फर्किने सम्भावना पनि खुला रहनेछ।
Artha Sanjal






