रविको मुद्दा फिर्ता गर्ने सरकारको तयारीप्रति महेश बसनेतको आपत्ति

काठमाडाैं। नेकपा एमालेका नेता महेश बसनेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा सरकारले गोप्य रूपमा फिर्ता गर्ने गृहकार्य अघि बढाएको भन्दै गम्भीर आपत्ति जनाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बसनेतले सहकारी ठगीको अभियोग कायमै राखेर सांसद पद जोगाउने तर सांसद स्वतः निलम्बन हुने मुद्दा मात्रै हटाउने प्रयास सरकारको नियतमाथि गम्भीर प्रश्न उठाउने विषय भएको बताएका छन्। उनले वर्तमान सरकार विदेशी दबाब र प्रभावमा बनेको दाबीसमेत गरेका छन्।

बसनेतले उक्त प्रक्रिया न्याय नभई अपराध लुकाउने षड्यन्त्र भएको आरोप लगाउँदै अपराध स्वीकार गरेको अवस्था देखिएका रवि लामिछाने र उनको पार्टीका संरक्षक सुशिला कार्कीको संरक्षणमा सरकार स्वयं ढाल बनेको टिप्पणी गरेका छन्।

सरकारको यस्तो चलखेल लोकतन्त्र, विधिको शासन र न्याय प्रणालीका लागि अत्यन्तै खतरनाक रहेको बस्नेतको ठहर छ। उनले अब जनदबाब र स्वतन्त्र न्यायालयको दृढ तथा निष्पक्ष भूमिका अपरिहार्य भइसकेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *