काठमाडौं। नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ।
अनुगमनका क्रममा कैफियत देखिएपछि विभागले विएस धवलागिरि ट्रेडर्सलाई १० हजार र सिन्धु मेटेरियल्स प्रालिलाई १५ हजार जरिवाना गरेको हो।
उपभोक्ता संरक्षण ऐन, २०७५ को विभिन्न दफामा उल्लेख भएका प्रावधान विपरीतका गतिविधि देखिएपछि ती दुई वटा फर्मलाई कारबाही दायरामा ल्याइएको विभागले जनाएको छ।
विभागले १४ वटा फर्ममा अनुमगन गरेको भएपनि अन्य १२ वटालाई भने सुधारात्मक निर्देशन दिएको छ।
विभागले पछिल्ला दिनमा निर्माणजन्य सामग्री बिक्री गर्ने फर्ममा अनुमगन गर्दै आएको छ।
स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी तथा अन्य सरोकार भएका निकायको सहभागितामा विभागले नियमित बजार अनुमगन गरिरहेको र कैफियत देखिएकालाई कानुनबमोजिम कारबाही, नगद जरिवाना गरिरहेको उल्लेख गरेको छ।






