एमसीए–नेपालद्वारा धनखोला–लमही सडक स्तरोन्नतिका लागि सम्झौता

काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल)ले पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको धनखोला–लमही सडक खण्ड स्तरोन्नतिका लागि निर्माण सम्झौतामा हस्ताक्षर गरेको छ ।

एमसीए–नेपाल र निर्माण कम्पनीबीच सोमबार काठमाडौंमा एक कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर भएको हो । दाङ र अर्घाखाँची जिल्लालाई जोड्ने ४० किलोमिटर लामोसडक खण्डको सुधारका लागि एमसीए–नेपाल र शर्मा–कुमार जोइन्ट भेन्चरबीच सम्झौतामा हस्ताक्षर भएको छ ।

एमसीसी अनुदानमा निर्माण हुने ४० किलोमिटर लामो धानखोला–लमही सडक सुधार परियोजनाको ठेक्का ग्लोबल टेन्डरमार्फत शर्मा–कुमार जेभीले हात पारेको छ । यो ठेक्का नेपालमै पहिलोपटक प्रयोग हुन लागेको फुल डेप्थ रिक्लेमेसन एन्ड सुपरपेव अस्फाल्ट प्रविधिमा आधारित रहेको एमसीए–नेपालले जनाएको हो ।

सन् २०२४ को अक्टोबरमा बोलपत्र आह्वान गरिएको उक्त परियोजनामा ११ कम्पनी सहभागी भएकामा प्राविधिक र वित्तीय मूल्यांकनपछि शर्मा–कुमार जेभी छनोट भएको छ ।

शर्मा कन्स्ट्रक्सन र कुमार निर्माण सेवा प्रालिको संयुक्त उपक्रम शर्मा–कुमार जेभीले भ्याटबाहेक दुई करोड आठ लाख अमेरिकी डलर (करिब तीन अर्ब रुपैयाँ)मा ठेक्का पाएको छ । एमसीसी परियोजनाअन्तर्गत पूर्ण रूपमा नेपाली कम्पनीले ठेक्का पाएको यो पहिलो परियोजना रहेको छ ।

एमसीसीको ५५ करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९ करोड ७० लाख डलर योगदानमा नेपालमा प्रसारण लाइन, सबस्टेसन तथा सडक पूर्वाधार निर्माणको काम भइरहेको छ ।

यो आयोजनाको निर्माण कार्य सम्झौता भएको २४ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *