सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, छिटो सक्न मन्त्री घिसिङको निर्देशन

काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत सबैभन्दा जोखिमपूर्ण मानिने सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको काम ६५ प्रतिशत पूरा भएको छ।

पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानमा निर्माण भइरहेको आयोजनाको मुख्य १,१२६ मिटर लामो सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ। भौतिक प्रगति सन्तोषजनक देखिए पनि हालसम्म आयोजनाको वित्तीय प्रगति भने ५६ प्रतिशतमा सीमित रहेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ एवं भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार निर्माणस्थलको स्थलगत निरीक्षण गर्दै कामलाई थप तीव्रता दिन निर्देशन दिएका छन्। उनले आयोजना कार्यान्वयनका क्रममा देखिएका प्राविधिक र प्रशासनिक जटिलता तत्काल समाधान गर्न आयोजना पक्ष र निर्माण व्यवसायीलाई आग्रह गरे। वन कटान र भुक्तानीमा ढिलाइ भएको भन्दै निर्माण व्यवसायीले १९ महिनाको म्याद थप माग गरेको सन्दर्भमा मन्त्री घिसिङले निर्णय प्रक्रिया ढिलो पारेर आयोजना प्रभावित पार्न नहुनेमा जोड दिए।

आयोजना अन्तर्गत तीनवटा बाइपास सुरुङको निर्माण पूरा भइसकेको छ भने हाल पहुँच सडक निर्माण, भीर संरक्षण र रिटेनिङ वालको काम तीव्र रूपमा अघि बढिरहेको छ। करिब ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ लागतमा चिनियाँ कम्पनीमार्फत निर्माण भइरहेको यो सुरुङमार्ग चैत २०८३ भित्र सम्पन्न गर्ने सम्झौता छ। मुख्य सुरुङबाट सवारी साधन सञ्चालनमा आएपछि मात्र पहिरो नियन्त्रणका लागि ७८० मिटर लामो ‘रक सेड’ निर्माणको काम सुरु गरिनेछ।

नेपाल सरकारको आफ्नै लगानीमा निर्माण भइरहेको यो सुरुङमार्ग सञ्चालनमा आएपछि सिद्धबाबा क्षेत्रमा हरेक वर्ष हुने पहिरो र ढुङ्गा खस्ने समस्याबाट यात्रुहरू सुरक्षित हुने अपेक्षा गरिएको छ। यसले सिद्धार्थ राजमार्गको यात्रा थप सुरक्षित, सहज र छिटो बनाउनुका साथै सवारी दुर्घटनामा उल्लेखनीय कमी ल्याउने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *