काठमाडौं । सुरुदेखि नै विवादमा परेको रिलायन्स स्पीनिङ मिल्स लिमिटेडको आईपीओ (प्रारम्भिक सार्वजनिक निष्कासन) सम्बन्धमा छानबिन गरी आवश्यक कारबाही अघि बढाउन सरकारले निर्देशन दिएको छ ।
अर्थ मन्त्रालयले मंगलबार धितोपत्र बोर्डलाई पत्र लेख्दै बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ निष्कासन गर्ने क्रममा भएका काम–कारबाही र त्यससँग सम्बन्धित विषयमा छानबिन गर्न भनेको हो । विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार र परेका उजुरीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले छानबिनको नतिजा जानकारी गराउन पनि आग्रह गरेको छ ।
रिलायन्स स्पीनिङ मिल्सले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ खुला गरिसकेको छ । कम्पनीले आगामी पुस ७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेको थियो । तर अर्थमन्त्रालयको निर्देशनपछि सर्वसाधारणका लागि आईपीओ खुल्ने वा नखुल्ने विषय अन्योलमा परेको छ ।
मन्त्रालयको पत्रमा राजस्व सचिवस्तरको २०८२/०८/२९ को निर्णयअनुसार बुक बिल्डिङ प्रक्रियासँग जोडिएका सबै पक्षको छानबिन गरी आवश्यक कारबाही अघि बढाउन धितोपत्र बोर्डलाई अनुरोध गरिएको उल्लेख छ ।
अर्थमन्त्रालयको निर्देशनसँगै धितोपत्र बोर्डको छानबिन र त्यसपछि लिइने निर्णयले रिलायन्स स्पीनिङ मिल्सको आईपीओको भविष्य तय गर्ने बताइएको छ ।








