घोराही सिमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडाैं। घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोली अर्थात मंसिर २६ गते एक दिनका लागि बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले पुस १४ गते, सोमबार, दाङ जिल्ला घोराही उपमहानगरपालिका वडा नं. १५ भरतपुरमा अवस्थित होटल पौवामा पाँचौ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ९ बजे शुरु हुनेछ।

सभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १०.५२६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ५२६३ प्रतिशत नगद लाभांश छन्।

कम्पनीले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजी १ः०.७५ अनुपातमा अर्थात ७५ प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। बोनस शेयर र हकप्रद जारीपछि कम्पनीको चुक्तापुँजी ८ अर्ब ७९ करोड २७ लाख ९४ हजार ९७२.५० रुपैयाँ पुग्ने भएकोले सोहीबमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधान गर्दा नियमनकारी निकायबाट कुनै रायसुझाव वा निर्देशन प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव सभाले पारित गर्नेछ। सभाले कम्पनीको हाय कायम चुक्तापुँजी र सञ्चित मुनाफाको जम्मा रकमभन्दा बढीको विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण रकम अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष२०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ। सभाले संस्थापक शेयरधनीहरुका तर्फबाट सञ्चालकहरुको निर्वाचन गर्नेछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *