काठमाडौं । सहकारी विभागले सबै सहकारी संस्थाका सञ्चालकलाई दोहोरो, तेहरो पदको जिम्मेबारी नलिन निर्देशन दिएको छ । विभागले सहकारी ऐनको व्यवस्था अनुसार एक व्यक्ति एक पटकमा एक पदमा मात्र हुनु पर्ने व्यवस्थाको कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
‘सहकारी ऐन, २०७४को दफा ४१ (५)मा रहेको कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने ब्यबस्था र दफा ४४(१)को खण्ड (ग)मा रहेको कुनै सञ्चालक अर्को सहकारी संस्थाको सञ्चालक रहेमा निज आफ्नो पदमा बहाल रहन सक्ने छैन भन्ने प्रावधानका छ ।’
विभागले सोमबार जारी गरेको निर्देशनमा भनिएको छ, ‘ उक्त व्यवस्था कार्यान्वयनका लागि विभाग र सहकारी नियामक निकायहरुबाट निर्देशन तथा मापदण्ड जारी भएकोले केही व्यक्तिहरु दोहोरो सञ्चालकका रुपमा कार्यरत रहेको भन्ने गुनासो प्राप्त भई रहेकोले निर्देशनका बाबजूत हालसम्म पनि दोहोरो सञ्चालकमा बहाल रहनु भएका सञ्चालक सदस्यलाई यथाशीघ्र उक्त कानूनी प्रावधान कार्यान्वयन लागि सम्बन्धित सबै सहकारी संस्था तथा सञ्चालक सदस्यलाई यो निर्देशन जारी गरिएको छ ।’
सहकारी विभागले यसअघि पनि पटक पटक सहकारी सञ्चालकहरुलाई दोहोरो पदमा नबस्न निर्देशन दिदै आएको थियो । प्रारम्भिक संस्थामा सञ्चालक समितिमा रहेकाहरु संघमा समेत पदाधिकारी बस्ने र दोहोरो पद धारणा गर्ने गलत अभ्यास सहकारीमा देखिँदै आएको छ । सहकारी विभागले २०८१ असार १९ र साउन १७ गते सहकारी सञ्चालकले दोहोरो पद धारण नगर्न निर्देशन दिएको थियो ।
सहकारी विभागबाट जारी निर्देशन, राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट जारी भएको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालन सम्बन्धमा जारी गरिएको नियामकीय मापदण्ड, सहकारी संघ संस्थामा सुशासन प्रबर्द्धनको लागि जारी एकीकृत निर्देशन, नेपाल राष्ट्र बैंकबाट जारी भएको बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको लागि निर्देशन तथा मापदण्ड , २०८१ को परिच्छेद ७ को कुनै पनि सदस्य एकै अवधिमा एकभन्दा बढी संस्थाको सञ्चालक वा पदाधिकारी हुन पाइने छैन भन्ने व्यवस्था यथाशीघ्र कार्यान्वयन गर्न विभानगले निर्देशन दिएको छ ।
‘सहकारी संस्थाहरुको नियमनको भूमिकामा रहेका सबै नियमनकारी निकायहरुले सहकारी संस्थाहरुको अनुगमन, निरिक्षण,नियमन तथा सुपरिवेक्षणका क्रममा उल्लेखित कानूनी प्रावधानको परिपालनाको अवस्था समेत हेरी परिपालना नभएको पाइएमा सहकारी ऐन २०७४ तथा नियमावली, २०७५ अनुसार कारवाही गर्न समेत विभागले आह्वान गरेको छ ।







