एनपीएल-२: सुदूरपश्चिम रोयल्सको अपराजित यात्रा कायमै, चितवनको चौथो हार

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको दोस्रो खेलमा चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्सले ४९ रनको जित निकाल्दै आफ्नो अपराजित यात्रा कायम नै राखेको छ ।

कीर्तिपुरस्थिति त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेको चितवनले पहिले फिल्डिङ गर्‍यो । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले दिएको १७० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको चितवन १७ ओभर १ बलमा सबै विकेट गुमाउँदै १२० रनमा समेटिएको हो ।

यससँगै समूह चरणका २ खेलअघि नै प्लेअफमा स्थान बनाएको सुदूरपश्चिमले ६ खेलमा शत प्रतिशत नतिजा निकाल्दै आफ्नो अपराजित यात्रा कायम राखेको छ । यो टिमले यसअघि जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजलाई जितेको थियो ।

१२ अंकसहित सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा छ । चितवन भने ६ खेलमा २ जित र ४ हारले ४ अंकसहित तालिकाको छटौं स्थानमा छ । आजको खेलमा ब्याटिङ निर्णायक बन्दा सुदूरपश्चिमले जित निकालेको हो । ओपनर क्रिस लिनले ५६ बलमा ७५ रन जोडेर सुदूरपश्चिमको ब्याटिङ उकासेका थिए । उनले १७ ओभरमा पुगेर रिटायर्ड आउट भए । उनी रिटायर्ड आउट भएपछि क्रिजमा आएका दीपेन्द्रसिंह ऐरीले अविजीत २४ रन जोडे ।

आरिफ शेखले पनि अविजीत २४ रन जोडे । ओपनर बिनोद भण्डारी २१ र पुनीत मेहराको १३ रनले सुदूरपश्चिमले चितवनलाई १७० रनको बलियो लक्ष्य प्रस्तुत गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *