काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट हेर्न नमिल्ने इजलासमा परेको छ । शाक्यको रिटमा मंगलबार सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो ।
शाक्यको तर्फबाट बहसमा सहभागी भएका पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमेश बडाल र न्यायाधीश मनोजकुमार शर्मा कानुन व्यवसायी हुँदा पहिला एउटै ल फर्ममा काम गरेकाले मुद्दा हेर्न नमिलेको एक कानुन व्यवसायीले जानकारी दिए ।
शाक्यले आफूलाई कार्यकाल पूरा नगरी हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दिएका हुन् । यसअघि गत कात्तिक २१ गते शाक्यको रिटमा सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको इजलासले शुक्रबार अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।







