एनपीएल सिजन-२ : भोलि दुईवटा खेल हुने, आज छैन

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को आज सातौं दिन आइतबार खेल राखिएको छैन। नेपाल क्रिकेट संघले यसअघि नै सार्वजनिक गरेको खेलतालिकामा आज विश्राम दिन राखिएको थियो।

भोलि सोमबार भने त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा दुई खेल हुनेछन्। बिहान ११:४५ बजे हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ। त्यसैगरी, दोस्रो खेल दिउँसो ४:०० बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ।

हालसम्मको अंकतालिकाअनुसार दुई–दुई खेल खेलेका सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स चार–चार अंकसहित पहिलो र दोस्रो स्थानमा छन्। तीन खेल खेलिसकेको काठमाडौं गुर्खाज भने दुई अंक जोड्दै तेस्रो स्थानमा छ। दुईवटा खेल खेलेको पोखरा भने दुवै पराजित हुँदै पुछारमा छ।

मंसिर १ गतेदेखि सुरु एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्। मंसिर २७ गते फाइनल हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *