काठमाडाैं। सामसङ नेपालले नेपाली उपभोक्तालाई लक्षित गर्दै नयाँ ट्याबलेट ग्यालेक्सी ट्याब ए११ औपचारिक रूपमा बजारमा उपलब्ध भएको घोषणा गरेको छ। विभिन्न पुस्ता र उपयोगका लक्ष्यसहित प्रस्तुत गरिएको यो ट्याबलेटले शक्तिशाली प्रदर्शन, आकर्षक डिजाइन र भरपर्दो प्रयोग अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।
ग्यालेक्सी ट्याब ए११ मा रहेको 8.7-इन्चको डिस्प्लेले चलचित्र हेर्न, गेम खेल्न वा अनलाइन कक्षा लिन जीवन्त दृश्य अनुभव उपलब्ध गराउँछ। Helio G99 प्रोसेसर प्रयोग भएकाले स्ट्रिमिङ, मल्टिटास्किङ र एप स्विचिङ सहज र तीव्र हुने कम्पनीको भनाइ छ।
यसले विद्यार्थीदेखि युवा प्रोफेसनल र पारिवारिक प्रयोगकर्तासम्म सबैका लागि उपयुक्तता बढाएको छ। हल्का र स्लिम बडी भएको ट्याब ए११ ले 5100 mAh क्षमताको ब्याट्रीमार्फत लामो समयसम्म निरन्तर प्रयोगको सुविधा दिन्छ।
ग्यालेक्सी इकोसिस्टमसँगको सहज समन्वयका कारण स्मार्टफोन तथा अन्य सामसङ उपकरणहरूसँग डेटा शेयर, नोटिफिकेशन व्यवस्थापन र फाइल ट्रान्सफर जस्ता कार्य छिटो र सरल रूपमा गर्न सकिन्छ।
ट्याबमा उपलब्ध LTE र Wi-Fi दुवै मोडलले घर तथा बाहिरी वातावरणमा सहज कनेक्टिविटी सुनिश्चित गर्छन्। सामसङले ट्याब ए११ मा ७ वर्ष OS र ७ वर्ष सुरक्षा अपडेट उपलब्ध गराउने घोषणा गरेको छ, जसले दीर्घकालीन भरोसा र मूल्य प्रदान गर्नेछ।
Samsung Kids Mode, अभिभावक नियन्त्रण विकल्प र बहु-प्रोफाइल सपोर्टका कारण यो ट्याब पारिवारिक प्रयोगका लागि विशेष उपयोगी भएको कम्पनीले जनाएको छ।
सामसङ नेपालका MX निर्देशक प्रणय रत्न स्थापितका अनुसार, ट्याब ए११ ले नेपाली बजारमा सामसङको नवप्रवर्तन, भरोसा र उच्चस्तरीय प्रयोग अनुभव अझ सशक्त बनाउनेछ।







