काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा छापा मारेको छ । आइतबार दिउँसो अख्तियारको विशेष टोलीले नगरपालिकाको कार्यालयमा छापा हानेर केही कागजात नियन्त्रणमा लिएको हो ।
नगरपालिकामा अनियमितता भएको भन्ने उजुरी र गुनासोहरू पटक-पटक आएपछि अख्तियारले छापा मारेको बताइएको छ । भोटेकोशी जलविद्युत् आयोजनाबाट अस्पताल निर्माणका लागि भन्दै बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले ५ करोड रुपैयाँ लिएको आरोप छ ।
छापा मार्ने क्रममा करिब २० लाख रुपैयाँको हिसाब-किताब नदेखिएको र बाँकी रकमसम्बन्धी कुनै स्पष्ट विवरण फेला नपरेको नगरपालिकासँग नजिक स्रोतले जानकारी दिएको छ ।







