११ जना राजदूत फिर्ता गर्ने निर्णयविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा

काठमाडौँ । विभिन्न ११ देशमा रहेका नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्धको रिटको सुनुवाइ ‘हेर्दाहेर्दैमा’ राखिएको छ । न्यायाधीशद्वय सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा शुक्रबार सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखेर आइतबारका लागि पेसी तोकिएको छ ।

शुक्रबार रिट निवेदक प्रतिभा उप्रेतीको तर्फबाट अधिवक्ता अनन्त लुइँटेल, वरिष्ठ अधिवक्ताहरु शेरबहादुर केसी, गोपालकृष्ण सापकोटा, टीकाराम भट्टराई, खम्बाबहादुर खाती र अधिवक्ता विशाल थापा लगायतले बहस गरेका थिए ।

गत असोज २० गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न देशमा कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध अधिवक्ता प्रतिभा उप्रेती र सुनिल भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

सरकारले फिर्ता बोलाएका राजदूतहरूमा चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओली, जर्मनीका डा. शैल रुपाखेती, इजरायलका धनप्रसाद पण्डित, मलेसियाका डा. नेत्रप्रसाद तिमल्सिना, कतारका रमेशचन्द्र पौडेल, रुसका जंगबहादुर चौहान, साउदी अरबका नरेशविक्रम ढकाल, स्पेनका सनिल नेपाल, संयुक्त अधिराज्य (बेलायत)का चन्द्रकुमार घिमिरे, संयुक्त राज्य अमेरिका (अमेरिका) का लोकदर्शन रेग्मी र जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी छन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *