लमजुङको राइनास नगरपालिकाले नगरभित्रका भलिबल खेलाडीलाई सम्मान गरेको छ । नगरपालिकाले स्थानीय ८ जना भलिवल खेलाडीलाई प्रोत्साहन स्वरुप सम्मान गरेको हो । नगरपालिकाले एक कार्यक्रमबीच प्रतियोगितामा सहभागी खेलाडीहरु विशाल विक, जयन्द्र गुरङ, सद्दाम हुसेन, सरोज कुमाल, विकाश थापा, विकाश कुमाल, रिकिन कुमाल र टिम म्यानेजर अमृत कुमाल गरी ८ जनालाई सम्मान गरेको शाखा अधिकृत पूर्णवहादुर नेपालीले जानकारी दिए ।
नगरप्रमुख सिहंवहादुर थापा, उप्रप्रमुख धनकुमारी गुरुङ र प्रमुख प्रशासकिय अधिकृत गोकर्णराज सुयलले संयुक्त रुपमा खेलाडीलाई सम्मान गरेका हुन । उनीहरुलाई सम्मान स्वरुप खादा लगाई एकमुष्ट १९ हजार रुपैया प्रदान गरिएको हो ।
नगरपालिकाले यसअघि भलिवल खेलाडीलाई खेलकुद पोशाकसमेत सहयोग गरेको थियो । १ वैशाखदेखि ३ वैशाखसम्म गोरखाको अजिरकोट गाउँपालिका २ खिन्पुमा आयोजित खुल्ला भलिवल प्रतियोगितामा उपाधि विजेता नगरभित्रका खेलाडीलाई नगरपालिकाले नगद सहित सम्मान गरेको हो ।







