काठमाडौं । डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले ६ उद्योगको बिजुली काटेको छ । प्राधिकरणले लक्ष्मीपुजाको भोलिपल्ट बिहानै ६ उद्योगमा लाइन काटेको हो ।
लाइन काटिनेमा प्राधिकरणको दाबीअनुसार सबैभन्दा धेरै बक्यौता रहेका उद्योग छन् । हालसम्म जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पेनिङ मिल्सको लाइन काटिएको हो ।
डेडिकेटेड ट्रंकलाइनको बक्यौता नतिर्ने उद्योगीलाई लक्ष्मीपूजा मनाउन दिने भन्दै हिजो लाइन काटिएको थिएन । यसअघि प्राधिकरणले २१ दिने सूचना निकालेर विजुलीको बक्यौता नतिर्ने उद्योगीको लाइन काट्ने चेतावनी दिएको थियो ।
अहिलेका ऊर्जामन्त्री कुलमान घिसङ प्राधिकरणको प्रबन्ध निर्देशक हुँदा डेडिकेटेड र ट्रंक लाइनको छुट बिल भन्दै प्रिमियम थपेर बिल पठाएपछि ७ वर्षदेखि यो विवाद कायमै छ ।






