म सत्ताको रसास्वादन गर्न आएको होइन: प्रधानमन्त्री कार्की

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आफू रहरले प्रधानमन्त्री नभएको भन्दै परिस्थितिले बाध्य बनाएको स्पष्ट पारेकी छन् । पदभार ग्रहण समारोहमा सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् ।

उनले भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई सहज र नयाँ पुस्ताको भावनाअनुसार अघि बढ्नुपर्ने पनि बताइन् । ‘रहरले म आएको होइन, सडक र जताततैबाट जिम्मा लेऊ भनेर सुझाव आयो । म विवश हुनुपर्‍यो । सत्ताको रसास्वादन गर्न आएको होइन,’ प्रधानमन्त्रीको भनाई छ ।

उनले सुरक्षा वाहन समेत खरिद नगरी नहुने अवस्थामा रहेको भन्दै उनले हिंसा र आगजनी अत्यन्त आवश्यक संस्थाहरूमा छानिछानी भएको बताइन् । उनले पछिल्लो दृश्य देखेर लाज लागेको भन्दै नेपाली नै भएर यो काम गर्न नसक्ने बताइन् । ‘यो घटनामा षड्यन्त्र नै भएको हो कि भन्ने लाग्छ । अनुसन्धान हुन्छ । प्रहार र नोक्सान गर्नेहरूलाई छोड्ने अवस्था छैन,’ प्रधानमन्त्री कार्कीले भनिन, ‘सबैको छानबिन हुन्छ ।’

उनले सबैलाई कसरी उठाउने भन्नेमा सरकारले सोचिरहेको भन्दै सबैको सहयोगमा आफूले ६ महिनाको अवधिपछि निर्वाचित जनप्रतिनिधिहरूलाई सुम्पने बताइन् ।

‘नयाँ आउने सांसद र मन्त्रीलाई सुम्पने अठोट गरेका छौँ । तर तपाईँहरू र सबैको साथ नभई सम्भव छैन, सहयोग गर्नुस्’, उनले भनिन, ‘जति क्षति भएको छ, आफ्नैतर्फबाट पहल गरेर त्यो पूरा किन नगर्ने ? तराईमा बाँसका भाटा जोडेर कामचलाऊ किन नगर्ने ? नेपालीहरूमा क्षमता छ ।’

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *