आयोगले भन्यो– कसैले पनि हिंसात्मक कार्य नगरौँ, लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सोमबार र मंगलबार भएको जेनजी पुस्ताको प्रदर्शन र त्यसपछिको उत्पन्न अवस्थालाई अनुगमन गरिरहेको जनाएको छ ।

आयोगले आज बुधबार विज्ञप्ति जारी गर्दै जनजीवनलाई सामान्य बनाउँदै लैजान र देशलाई वर्तमान अन्योलताबाट यथाशीघ्र निकास दिने वातावरण तयार गर्न आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हुन सक्दछ भन्ने कुरामा आयोग दृढ छ । अतः जनताका हक अधिकारलाई थप मजबुत र सुरक्षित बनाउँदै लोकतान्त्रिक विधि र प्रक्रियाबाट नै वर्तमान अन्यौलताबाट देशले यथाशीघ्र राजनीतिक निकास पाउनुपर्दछ ।’

आयोगले संकटको घडीमा स्थितिलाई सामान्य बनाउन राज्यका सबै निकाय र आम नागरिकको सकारात्मक र सक्रिय भूमिका आवश्यक भएको भन्दै सबैलाई आग्रह गरेको छ ।

‘विगत दुई दिनमा घटेका हिंसात्मक कार्य, आगजनी र तोडफोडले देशको ठूलो जनधनको क्षति भएको दुखद् घटनाप्रति सबैको चिन्ता हुनु स्वाभाविकै हो । अब यस प्रकारका घटना हुने छैनन् भन्ने कुरामा विश्वस्त हुँदै कोही कसैले पनि हिंसात्मक कार्य नगर्न नगराउन हुन आयोग सबैमा आह्वान गर्दछ,’ आयोगको अपिल छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *