नेपाली कांग्रेस रूपन्देहीका पूर्वक्षेत्रीय सभापति मातृका यादवले पार्टीबाट राजिनामा दिएका छन् । उनले पार्टी साधारण सदस्यसमेत नरहने गरी राजिनामा दिएका हुन् ।उनले राजिनामा पत्र पार्टी कार्यालयमा आज बुझाएको बताए । उनी कांग्रेस महाधिवेशनमा क्षेत्रीय सभापतिमा दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएर पराजित भएका थिए । उनी सिद्धार्थ नगरपालिकाको मेयरका आकांक्षी छन् ।
कांग्रेसले सिद्धार्थ नगरको मेयरका लागि इस्तियाक अहमदको नाम सिफारिस गरेको छ । यसमा यादव असन्तुष्ट थिए ।‘पार्टीमा इमान्दारहरूको कुनै काम रहेन,’ उनले भने, ‘यो पार्टीमा बसिरहनु उचित लागेन, राजिनामा दिएँ ।’ अन्याय सहेर बस्न हुन्न भनेर आफूले राजिनामा दिएको उनको भनाइ थियो ।
उता मंगलबार कांग्रेस कपिलवस्तुका प्रभावशाली दुई नेता एमालेमा प्रवेश गरोएका छन् । नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव रहेका गंगेशनाथ तिवारी र महाराजगन्ज नगरपालिका वडा नम्बर ११ का अध्यक्ष जगदिश तिवारी एमाले प्रवेश गरेका हुन् । दुवै नेतालाई एमाले नेता तथा संघीय सांसद वृजेश कुमार गुप्ता, प्रदेश सचिवालय सदस्य झविलाल पोख्रेल, महाराजगन्ज नगरपालिकाका मेयरका आकांक्षी रामदास चौधरी लगायतले महाराजगन्ज निर्वाचन सम्पर्क कार्यालयमा पार्टी प्रवेश गराएका थिए ।
कांग्रेसका युवाभित्र प्रभावशाली नेता मानिने तिवारीको प्रभाव महाराजगन्जसंगै बुद्धभूमिका केही वडामा राम्रो प्रभाव रहेको मानिन्छ । पारिवारिक रुपमा राजनीतिमा सक्रिय रहदै आएको तिवारी परिवारको एमालेमा प्रवेशलाई त्यस क्षेत्रमा महत्वका साथ हेरिएको छ । तिवारी काँग्रेस प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यको विश्वासनीय पात्र हुन् । उनी शिवराज साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष हुन् । कांग्रेसको बर्चश्व रहेको महाराजगञ्जमा यसभन्दा अगाडि दुई जना वडाध्यक्ष पनि एमाले प्रवेश गरेका थिए ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै एमाले नेता गुप्ताले मधेसको विकासको लागि एमालेका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे । एमालेप्रति मधेसमा जनलहर बढेको बताउँदै नेता गुप्ताले कपिलवस्तुमा एमालेले सबैभन्दा धेरै सिट जित्ने पनि दाबी गरे ।







