जेनजी पुस्ताको मागप्रति संवेदनशील बन्न सरकारलाई नैनसिंह महरको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले काठमाडौं लगायत देशका विभिन्न स्थानमा युवा पुस्ता (जेनजी) को नेतृत्वमा भइरहेका आन्दोलनको माग प्रति संवेदनशील बन्न सरकार संग आग्रह गरेका छन् ।

नेता महरले सरकारलाई अभिभावकिय भुमिका खेलेर जिम्मेवार बन्न र आन्दोलनकारीका मागहरूलाई सम्बोधन गर्न आग्रह गरेका हुन् । लोकतान्त्रिक व्यवस्थामा आफ्ना संवैधानिक अधिकारका लागि शान्तिपूर्ण रूपमा आवाज उठाउनु नागरिकको नैसर्गिक अधिकार भएको स्मरण गराउँदै महरले आन्दोलनमा हिंसा र घुसपैठ हुनु दुखद भएको बताए ।

उनले घाइतेहरूको अविलम्ब निःशुल्क उपचारको व्यवस्था गर्न र आन्दोलनमा ज्यान गुमाएकाका परिवारलाई तत्काल उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

देशको भविष्य, सुशासन र न्यायका लागि युवा पुस्ताले उठाएका आवाजलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्नेमा महरले जोड दिए । ‘सरकारले अभिभावकको भूमिका निर्वाह गर्दै उनीहरूका माग सम्बोधन गरी भविष्यप्रति आशा जगाउनुपर्छ ।’

सरकारलाई आन्दोलनरत पक्षका जायज मागहरूलाई बेवास्ता नगरी तत्काल वार्ताको माध्यमबाट समस्या समाधानका लागि पहल गर्न उनले आग्रह गरे । साथै, महरले आन्दोलनरत पक्षलाई पनि संयमित र शान्तिपूर्ण रहन आह्वान गरे । उनले नेपाली कांग्रेस सदैव नागरिक अधिकार र लोकतान्त्रिक मूल्यमान्यताको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धतासमेत व्यक्त गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *