काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले रास्वपा सभापति रवि लामिछानेलाई राखिएको रुपन्देही कारागार स्वास्थ्यका दृष्टिकोणले उपयुक्त नरहेको जनाएको छ । रुपन्देही र कैलाली कारागार अनुगमनपछि मंगलबार विज्ञप्ती जारी गर्दै आयोगले लामिछानेको कोठामा खुल्ला शौचालय रहेको जनाएको हो ।
रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई राखिएको रुपन्देही कारागार आयोगकी सदस्य डा. लिली थापासहितको टोलीले हिजो अनुगमन गरेको थियो ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा रवि लामिछानेलाई राखिएको कोठाको झ्याल प्लाइले बन्द गर्दा हावा पास हुन नसकेको, कोठाबाहिर हिँडडुल गर्न नदिइएको उल्लेख छ ।
‘कोठासँगै खुला ट्वाइलेट रहेको, स्वास्थ्यको दृष्टिकोणले निजलाई राखिएको कोठा उपयुक्त नभएको र अदालतबाट आदेश हुँदा समेत लामिछानेलाई स्थानान्तरण नगरिएको पाइएको छ’, आयोगले भनेको छ ।
रुपन्देही कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको, ज्येष्ठ नागरिक र बिरामीलाई राख्ने छुट्टै स्थान नभएको, पर्याप्त पत्रपत्रिका उपलब्ध नभएको, सामाजिक सुरक्षा भत्ता पाउनुपर्नेहरू वञ्चित रहेको, बेलाबे जेलमा सर्प छिर्ने गरेको र आधारभूत आवश्यकता व्यवस्थापनका लागि पर्याप्त बजेट नभएको पाइएको आयोगले बताएको छ ।







