काठमाडाैं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर खरिदका लागि आवेदन दिने म्याद थप गरिएको छ ।
कम्पनीले गत असार २५ गतेदेखि साउन १३ गतेसम्मका लागि हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः०.४२ अनुपातमा रु.१०० अंकित दरका १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर जारी गरेको थियो । तर उक्त अवधिभर माग बमोजिम आवेदन प्राप्त नभएकाले आवेदन दिने म्याद थप गरिएको कम्पनीले जनाएको छ ।
यससँगै अब कम्पनीको हकप्रदमा साउन २० गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत जेठ १६ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ, जेठ १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् ।
जेठ १५ गतेसम्म कायम सेयरधनीहरुले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका साथै मुक्तिनाथ विकास बैंकको बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा–चिप्लेढुङ्गा, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर र बुटवल शाखा कार्यालय तथा एशियन लाइफ इन्स्योरेन्सको कार्यालयबाट आवेदन दिन सक्नेछन्।





