काठमाडाैं । भक्तपुरमा दुई किशोरी एउटै डोरीमा झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । सुर्खेतको पञ्चपुरी– ८ स्थायी घर भएका १७ वर्षीया मेनुका कँडेल र उनकी बहिनी १५ वर्षीया सिर्जना कँडेल मृत भेटिएका हुन् ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका– ८, बोडे सिन्टिटारस्थित एक घरमा डेरामा बस्दै आएका उनीहरू नाइलनको डोरीमा झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डिएसपी ढुन्डीराज न्यौपानेले बताए ।
जिल्ला प्रहरी कार्यालय भक्तपुरले अनुसन्धानका क्रममा आत्महत्याअघि उनीहरूले मोबाइलको सेल्फीमोडमा एउटै डोरीको पासो लगाउँदै फोटो खिचेको फेला परेको छ । ती फोटो प्रयोग ‘मरेर गए नि नतोडिने बन्धन माया हो…’ बोलको गीतमा टिकटक भिडियो बनाइएको फेला परेको छ ।
घटनास्थलबाट बरामद मोबाइलमा उक्त भिडियो फेला परेको प्रहरीको भनाइ छ । मेनुका र सिर्जनाका बाबुआमा रोजगारीका लागि भारतमा रहेको प्रहरीले जनाएको छ ।
दुवै दिदीबहिनी भारतबाट भागेर नेपाल आएका थिए । भारतमै उनीहरू हराएको सूचना विभिन्न मिडियाबाट सार्वजनिकसमेत भएको थियो ।







