काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले शेखर कोईरालाको पक्षमा कांग्रेसमा ६० प्रतिशत सांसदहरु रहेको दाबी गरेका छन् । पार्टीका सांसद एवं कोईराला पक्षधर नेताहरुसँगको भेटपछि आइतबार काठमाडौंमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा सांसद शर्माले बैठकमा केन्द्र सरकार र प्रदेश सरकारमा रहेका आफू निकट मन्त्रीहरुलाई फिर्ता बोलाउने बारेमा पनि छलफल भएको बताए । उनले यसको निष्कर्ष भने निस्कि नसकेको र अर्को चरणको बैठक बसेर यसबारेमा निर्णय गर्ने सहमति भएको बताए । उनले संसदीय दलको नेतामा भिड्न सांसद कोईरालाले चाहने हो भने ६० प्रतिशत पुग्ने दाबी गरे ।
सांसद शर्माले यस वर्ष आफूले कसैलाई घुस नखुवाई कम्पनी रेन्यु गरेको बताए । वर्तमान सरकारले सुशासन दिन नसकेको, भ्रष्टाचार नियन्त्रण गर्न नसकेको धारणा नेता कोईरालाले राख्दै आएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) र सत्ता सहयात्री नेकपा एमालेकी नेतृ एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेसँगै सरकार परिवर्तनको चर्चा चुलिएका छन् ।





