काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जासम्बन्धी विधेयक ल्याउँदैमा नआत्तिन आग्रह गरेका छन्। उनले ल्याइएको ऐनमा आवश्यक संशोधन र परिमार्जन गरेर अगाडि बढ्न सकिने स्पष्ट पारे।
मंगलबार काठमाडौंमा आयोजित स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २३औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री खड्काले मुलुकको हितअनुकूल कानुन निर्माण हुने भन्दै तर्सिनुपर्ने कुनै कारण नरहेको बताए।
“ऐन ल्याउनै हुँदैन भन्ने कुरा त्यति राम्रो होइन,” उनले भने, “समयानुकूल कानुन परिमार्जन गर्दै जानुपर्छ।”
आरसीओडीको समस्या समाधानका लागि समितिमार्फत प्रोजेक्टको अवस्था हेरेर लचिलो व्यवस्था गर्न लागेको जानकारी दिंदै मन्त्री खड्काले भूमि प्राप्तिमा समस्या भए कानुन संशोधन गरेर अघि बढ्ने प्रतिबद्धता जनाए।
उनले २८ हजार ५ सय मेगावाट क्षमताको रोडम्याप कार्यान्वयन गर्न सकेमा लाखौँ नेपालीले रोजगारी पाउने उल्लेख गरे। ऊर्जा आयोजनाका आईपीओ रोक्न आवश्यक नरहेको र संवादमार्फत समस्या समाधान गर्न सकिने धारणा पनि उनले राखे।







