काठमाडौं । बुंगल हाइड्रो लिमिटेडले आज असार २९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ बिक्री खुला गरेको छ ।कम्पनीले २ लाख ७ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र ८ लाख ३० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई बिक्री गरेको हो ।
स्थानीय बासिन्दालाई छुट्याइएको सेयरमध्ये ६५ प्रतिशत अर्थात ५ लाख ३९ हजार ५०० कित्ता सेयरका लागि अति प्रभावित क्षेत्र सुदूर पश्चिम प्रदेश, बझाङ जिल्ला, बुंगल नगरपालिका वडा नं. ६ (साविक पिपलकोट गा.वि.स. वडा नं. ४, ५ र ७) र वडा नं. ७ (साविक कफल्सेरी गा.वि.स. वडा नं. १०) का बासिन्दाहरुले आवेदन दिन सक्नछन् ।
यस्तै, बाँकी ३५ प्रतिशत सेयर अर्थात २ लाख ९० हजार ५०० कित्ताका लागि सामान्य प्रभावित क्षेत्र बुंगल नगरपालिका वडा नं. १, २, ३, ४, ५, ८, ९ १० र ११ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । यता, स्थानीयले छिटोमा साउन ११ गते र ढिलोमा साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने साउन ११ गते बैकिङ समयसम्म मात्र आवेदन दिन पाउने व्यवस्था छ । दुवैले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
यसमा हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
स्थानीय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, केदारस्यू–१, कृषि विकास बैंक, बंगल नगरपालिका वडा नं. ४, ग्लोबल आइएमई बैंक, जयपृथ्वी नगरपालिका वडा नं.१० र आयोजनास्थल बुंगल नगरपालिका वडा नं.७ बाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सी आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।





