काठमाडौँ। बैंकिङ प्रणालीमा दिनहुँ तरलता थुप्रिँदै गएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार यहीँ असार १४ गतेसम्म बैंकहरुको औसत क्रेडिट टु डिपोजिट (सीडी) रेसियो ७७.९१ प्रतिशतमा झरेको छ।
बैंकिङ प्रणालीमा कर्जाको माग कम भइ निक्षेपको वृद्धिदर उच्च रहँदा तरलता बढिरहेको देखिन्छ । आर्थिक गतिविधिमा सुस्तता कायमै रहँदा कर्जा लगानी न्युन छ भने ग्राहकको बैंकमा पैसा जम्मा गर्ने प्रवृत्ति बढिरहेको छ।
राष्ट्र बैंकको तथ्यांकअनुसार असार १४ गतेसम्म बैंकहरुको कुल निक्षेप ७० खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ५५ खर्ब ७६ अर्ब रुपैयाँमा मात्र सीमित छ। त्यस्तै, वाणिज्य बैंकहरुको कुल निक्षेप ६३ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी ४९ खर्ब ५६ अर्ब रुपैयाँमा सीमित भएको छ।
बैंकहरुको सीडी रेसियो ९० प्रतिशतको सीमाभन्दा झण्डै १२ प्रतिशतले तल झरेको छ, जसले निकट भविष्यमा ब्याजदर थप घट्न सक्ने संकेत देखाएको छ।







