काठमाडौं । विकास हाइड्रोपावर लिमिटेडको आईपीओमा बिक्री खुला भएको पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ।
बुधबार साँझ ५ः०७ बजेसम्ममा ५९ लाख ५९ हजार ६७० कित्ताका लागि आवेदन परेको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ। कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको हो।
पहिलो दिनमै ४ लाख ८४ हजार ११९ जना सर्वसाधारणले आवेदन दिएका हुन् । कम्पनीले बुधबारदेखि २९ लाख ४२ हजार ७६० कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो । कम्पनीले यसअघि ९ लाख ९ हजार १०१ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र ३ लाख ५४ हजार ५५० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ ।
सर्वसाधारणलाई जारी भएको आईपीओको बिक्री असार २२ गते बन्द हुनेछ । आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यस कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।







