काठमाडौं । शाङ्घाई सहयोग सङ्गठन (SCO) ऊर्जा मन्त्रीस्तरीय बैठकको अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आज जनवादी गणतन्त्र चीनको निङ्बो सहरमा चीनको राष्ट्रिय ऊर्जा प्रशासनका प्रशासक महामहिम वाङ होङजीसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।
भेटवार्ताको सुरुवातमा मन्त्री खड्काले चीन सरकारद्वारा प्रदत्त आत्मीय आतिथ्य र SCO ऊर्जा मन्त्री स्तरीय बैठकको सफल आयोजनाप्रति आभार प्रकट गर्दै आयोजनाको सफल समापनका लागि बधाई ज्ञापन गरेका छन् ।
उक्त भेटवार्तामा नेपाल–चीनबिचको ऐतिहासिक र दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी विश्वास र ऊर्जा क्षेत्रमा सम्भावित सहकार्यका विषयमा छलफल भएको ऊर्जा मन्त्रालयले जनाएको छ ।
नेपालले जलविद्युत्, प्रसारण प्रणाली विस्तार, वैकल्पिक ऊर्जा प्रवर्द्धन र क्षमता विकासको क्षेत्रमा चीनसँग सहकार्य विस्तार गर्न इच्छुक रहेको उल्लेख गर्दै मन्त्री खड्काले नेपालका ऊर्जा परियोजनामा लगानी र प्रविधि हस्तान्तरणको अपेक्षा पनि व्यक्त गरेका थिए ।






