तीनकुने घटना : दुर्गा प्रसाईंसहित ८ जनाविरुद्ध कर्तव्य ज्यानको कसुरमा मुद्दा

काठमाडौं । गत १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनका क्रममा पक्राउ परेकाहरू मध्ये ८ जनालाई कर्तव्य ज्यानको कसुरमा मुद्दा दायर भएको छ ।

आन्दोलनका जनकमान्डर भनिएका दुर्गा प्रसाईंसहित ८ जनालाई कर्तव्य ज्यानको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको सरकारी वकिल कार्यालयले बताएकाे छ ।

प्रसाईंसँगै हरिहरि चौलागाईं, तारा राजावादी भनिने सरोज गौतम, शतिश न्यौपाने, गोकर्ण शाही, दण्डपाणि रेग्मी, सन्तोषकुमार सिलवाल र हेमराज थारूविरुद्ध कर्तव्य ज्यानको कसुरमा मुद्दा दायर गरिएको छ ।

त्यस्तै राजावादी प्रर्दशनमा पक्राउ परेकामध्ये ३० जनाविरुद्ध आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ३० जनालाई आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा मुद्दा गरेको हो ।

तीनकुनेमा हिंसात्मक प्रदर्शन हुँदा सविन महर्जन र पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । सोही घटनामा उनीहरूलाई प्रतिवादी बनाउँँदै मुद्दा दायर गरिएको हो ।

१५ चैत २०८१ राजसंस्था पक्षधरहरूले प्रदर्शन गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *