लुम्बिनी प्रदेश सभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित

दाङ। लुम्बिनी प्रदेश सभाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। छैठौं अधिवेशनको आठौं बैठकले आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम पारित गरेको हो।

बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए। त्यसपछि सभामुख तुलाराम घर्तीमगरले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए। ध्वनि मतको आधारमा नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे।

प्रदेश सरकारले प्रदेशको समग्र विकास गर्ने गरी कृषि, उद्योग, पर्यटन, पूर्वाधार विकासलगायतका क्षेत्रलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो।

जेठ ५ गते सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रमलाई सांसदहरूले प्रदेशको विकासका लागि उत्कृष्ट भन्दै त्यसलाई बजेटमार्फत सम्बोधन गर्न सुझाव दिएका थिए। मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रमलाई पूर्ण कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।

साथै,  शनिबार बसेको छैठौं अधिवेशनको आठौं बैठकलाई सम्बोधन गर्दै उनले कार्यान्वयनको लागि प्रभावकारी अनुगमन व्यवस्था मिलाइने जानकारी पनि दिएका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *