काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनअन्तर्गत बाँकेको बानियाभार क्षेत्रमा देखिएको विवाद समाधान गर्न निर्देशन दिएका छन् ।
मन्त्री खड्काले मंगलबार आयोजना प्रमुख रविकुमार चौधरीलाई मन्त्रालयमा बोलाएर आयोजना विस्तारका क्रममा उक्त क्षेत्रमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएका हुन् ।
बाँकेको बैजनाथ गाउँपालिका वडा नं ४ बानियाभार क्षेत्रमा स्थानीयको अवरोधका कारण तीनवटा विद्युत टावर निर्माण हुन नसकेपछि मन्त्री खड्काले आयोजना निर्माणको क्रममा भइरहेको ढिलाइको बारेमा समेत चासो राखेका हुन् ।
उनले आयोजनाभित्र परेका घरलाई उचित क्षतिपूर्ति दिँदा पीडितहरूको पुर्नवासको सुनिश्चितता गर्नसमेत निर्देशन दिए । भेटमा आयोजना प्रमुख चौधरीले स्थानीयबासीको अवरोधका कारण आयोजना अगाडि बढाउन नसकिएको मन्त्रीसमक्ष जानकारी गराए। उक्त क्षेत्रमा तीनवटा विद्युत टावर बन्न बाँकी रहेको उनको भनाइ थियो।






