काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले चाँडै आन्दोलनमा उत्रिने घोषणा गरेको छ । काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आज दिउँसो बसेको बैठकले आन्दोलन घोषणा गरेको हो ।
यसअघि, गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा राजसंस्थाको समर्थनमा भएको विरोध प्रदर्शन हिंसात्मक बनेपछि एक पत्रकारसहित दुई जनाको ज्यान गएको थियो । आन्दोलनमा ‘अवाञ्छित गतिविधि’ भएको भन्दै आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईँ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा लगायतलाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेकामध्ये राप्रपाका महामन्त्री राणा हाजिर जमानीमा रिहा भइसकेका छन् भने उपाध्यक्ष मिश्र अझै पनि प्रहरी हिरासतमै छन् ।
Artha Sanjal







