काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ ।
संघीय संसद अधिवेशन सुरू हुन लागेको अवसरमा प्रधानमन्त्री ओलीले शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा शीर्ष नेताहरू उपस्थित नहुने भएकोले प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको हो ।
शीर्ष नेताहरू उपस्थित नहुने भएकाले प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने कार्यक्रम स्थगित गरिएको नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले बताए ।
प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखाको बारपाकमा छन् । भूकम्प गएको १० वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन प्रचण्ड बिहीबार नै बारपाक पुगेका थिए ।
यस्तै सत्ताघटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि स्वास्थ्य उपचारका लागि भन्दै थाइल्याण्डमा छन् ।







