काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन)शाहले काठमाडौंको पुरानो बसपार्कमा निर्माणाधीन ‘काठमाडौँ टावर’मा गम्भीर अनियमितता र नीतिगत भ्रष्टाचार भएको आरोप लगाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले लामो स्टाटस लेख्दै नक्सापासदेखि कसरी अनियमितता भयो भन्ने आफ्नो दाबी उल्लेख गरेका छन् । प्रमुख शाहका अनुसार नक्सापासको नाममा कानुन मिचिएको छ, जसले महानगरलाई १ अर्बभन्दा बढीको आर्थिक क्षति पुर्याउन सक्छ भने ठेकेदारलाई अर्बौंको नाफा हुने अवस्था सिर्जना भएको छ । उनले यस प्रक्रियामा महानगरका कर्मचारी, जनप्रतिनिधि र ठेकेदारबीच मिलेमतो हुन सक्ने शंका व्यक्त गरेका छन् ।
काठमाडौं उपत्यका विकास प्राधिकरणले २०७२ सालमा उक्त टावरलाई १२ तल्लासम्म मात्र निर्माण गर्न अनुमति दिएको थियो । तर, सो अनुमतिलाई उल्लङ्घन गर्दै बिना पुनः अनुमति १९ तल्ला बनाइएको छ । ‘१२ तलालाई १९ तला बनाउँदा पुनः प्लानिङ पर्मिट लिनु नपर्ने हो? तला थपिँदा वातावरणीय, सामाजिक तथा आर्थिक प्रभाव मूल्यांकन गर्नु नपर्ने हो?’ — मेयर शाहले आफ्नो स्टाटसमा प्रश्न उठाएका छन्।
भवन निर्माणमा धेरै कुरामा लापरबाही, जबरजस्ती र अवैधानिक काम भएकाले यसले कानुनी प्रक्रिया मात्र मिचिँदैन, भवनबाट जोखिम पनि बढेको प्रमुख शाहले उल्लेख गरेका छन् ।






