काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्व महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछाने जेलबाट आऊ-जाऊ भइराखे भने अचम्म मान्न नहुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै ढकालले लामिछानेलाई “पटके” को संज्ञा दिएका हुन् ।
ढकालले लामिछानेमाथि पटक–पटक जेल जाने र छुट्ने प्रक्रिया भइरहने दाबी गर्दै भनेका छन्, ‘रवि दाइको मुद्दाको फैसला, आदेश लगायत १८–२० वटा अदालतबाट हुन्छ। कुनै अदालतबाट यिनी छुट्न सक्छन्, कुनैबाट प्रक्राउ पनि पर्न सक्छन्। यिनी जेलबाट आऊ-जाऊ भइराखे भने अचम्म नमान्दा हुन्छ ।’
लामिछानेको यस्तो अवस्थाले वैकल्पिक राजनीतिलाई गम्भीर क्षति पुर्याइरहेको ढकालकाे दाबी छ। ‘यिनी आऊ-जाऊ गरेर कसैलाई बिर्सन पनि दिँदैनन् र वैकल्पिक राजनीतिको समग्र अभियानलाई नै निरन्तर डिस्टर्ब गरिरहन्छन्।’ उनले भने ‘तपाईंहरूकै घर नजिकै देखिने गुण्डा, ठगहरू पनि जेल जाने-आउने गरिरहेका हुन्छन्। यसरी पटक पटक जेल जाने-आउनेलाई चलनचल्तीको भाषामा ‘पटके’ भनिन्छ। रवि दाइ पनि ‘पटके’ भइसके।’
रविको यस्तो अवस्थाले न त पार्टीभित्र कसैले निर्णय गर्न सक्छ, न पार्टीबाहिर कसैले वैकल्पिक शक्तिलाई अगाडि बढाउन सक्छ। यस्ता गतिबिधिले पुराना राजनीतिक दल—काङ्ग्रेस, एमाले र माओवादीलाई नै फाइदा पुग्ने उनले बताएका छन् ।







