काठमाडौं । काठमाडौंकाे नागार्जुन क्षेत्रबाट केही भारतीय सुरक्षाकर्मीलाई नेपाल प्रहरीले पक्राउ गरेकाे छ। अनुमतिबिना नेपाल प्रवेश गरेर नागार्जुन क्षेत्रमा पुगेका सुरक्षाकर्मीलाई प्रहरीले पक्राउ गरेकाे हाे।
कति जना भारतीय सुरक्षाकर्मी पक्राउ परेकाे भन्ने खुलेकाे छैन। यद्यपि उनीहरूलाई दुई/तीन दिन पहिले पक्राउ परेकाे स्राेतले बताएको छ। उनीहरू कुन अप्रेसनका लागि नागार्जुन क्षेत्रमा प्रेवश गरेको भन्ने पनि खुलेको छैन। नेपाली भूमिमा अनुमतिबिना भारतीय सुरक्षाकर्मी पटक-पटक प्रवेश गर्ने गरेका छन्।
काठमाडौँ प्रहरी परिसरकार प्रवक्ता अपीलराज बोहोराले भारतीय सुरक्षाकर्मी पक्राउ परेको विषय आफूलाई थाहा नभएको बताए। तत्कालीन वि.सं. २०४८ सालतिर गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रीकालमा पनि काठमाडौँको नयाँबानेश्वरमा अनुमतिबिना भारतीय सुरक्षाकर्मी प्रवेश गरेपछि त्यसले हंगामा मच्चाएको थियो।
त्यतिबेला अनुमतिबिना प्रवेश गरेका भारतीय सुरक्षाकर्मीलाई भारतले माफी मागेपछि मात्र छाडिएको थियो। उनीहरू भारतको सरकारको अनुमति नलिएर आएको पाइएको थियो। अहिले नागार्जुन क्षेत्रमा प्रवेश गरेका भारतीय सुरक्षाकर्मीको विषयलाई लिएर पनि भारतीय सुरक्षा निकायमा असन्तुष्टि भएको बताइएको छ।







