काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले निष्ठाका साथ देश र जनताको सेवामा रातदिन खटिँदा पनि सरकारले आफूलाई पदबाट बर्खास्त गरेको गुनासो गरेका छन् ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले आफूले विद्युत् महसुल बक्यौता अदालतको आदेशअनुसार उठाएको तर सरकारले बक्यौता उठाएकै कारण आफूलाई हटाएको बताएका हुन् । उनले आफूले बक्यौता नउठाउन आएका दबाब र प्रभावलाई आफूले अस्वीकार गरेको पनि बताए ।
‘बक्यौता उठाउने मेरो प्रयास नै म पदबाट हट्नुपर्ने मुख्य कारण बनेको छ’, घिसिङले भने, ‘सार्वजनिक संस्थाको बक्यौता उठाउन खोज्ने मेरो प्रयास राज्यविरुद्धको अपराध हो ? यसको जवाफ इतिहास र नेपाली जनताले अवश्य माग्नेछ ।’
त्यसैगरी, आफूलाई हतोत्साहित गर्न उनले राज्यको सम्पूर्ण शक्ति आफूमाथि खनिएको समेत आरोप लगाए ।
दैनिक १८ घण्टा हुने लोडसेडिङको अन्त्य आफ्नै कार्यकालमा भएको पनि उनले बताए ।







